मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन

900
















सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ।सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु।

म नेपालको भक्त हुँ। देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ। नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ। यही मनोहारी प्रकृतिको संरक्षण संवर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो। मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ।

हो म राजकुलमा जन्मेँ। नेपालको राज परम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ। आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म। म डाँडाकाँडा घुमेँ। पाखा पर्वत पुगेर रमाएँ। तराईका वैभवशाली समथर फाँट एवं वस्ती–वस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनको सूक्ष्म अध्ययन पनि गरेँ। कैयन् नदीनाला खोला खाल्सी तरेँ। भावुकतावश यही नेपालको गीत गुन्गुनाएर रमाएँ।

नेपालको इतिहास, यहाँको प्रकृति, सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसात् गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान् र विशिष्ट मान्छे बन्ने लालसा थिएन। मैले पछि थाहा पाएँ, अवोध बाल्यावस्थामै मेरो शीरमा नेपाल राष्ट्रको श्रीपेच पहिर्‍याइयो। त्यो इतिहासले अंकित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन। जान्ने बुझ्ने भएपछि मैले आफ्ना बुवाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा वीरेन्द्रको राज्यकालमा उहाँहरुलाई सघाउने तथा उहाँहरुका समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नतितर्फ नै आफूलाई समर्पित राखेँ।

वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो। जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो। अचानक ममाथि ठूलो बज्रपात भयो। सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु पर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु पर्‍यो।

जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन। म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्य मात्र मैले देख्नु पर्‍यो, सहनु पर्‍यो। दरबार भित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन्। त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि, उनीलाई पनि गोली लागेको थियो। ठूलै शल्यकृयापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्दछन्। मलाई कताकता पीडाबोध भइरहन्छ।

त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यता भित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो। मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रको त्यो पीडा एवं बाध्यता पटक–पटक अभिव्यक्त पनि गरिसकेको छु। मैले धेरै ठाउँमा भनेँ,– प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन।

तर नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्था भित्र रहेर मैले नेपालको राजगद्दी सम्हाल्नु पर्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफूलाई लगाउनु पर्‍यो, लगाएँ, लागेँ र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरेँ।

नेपालको राजदरबार भित्र भएको अकल्पनीय घटना पश्चात् आएको राजनीतिक घटनाक्रमको श्रृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए। तत्कालिन संवैधानिक व्यवस्था भित्र अनेक व्यवधानहरु खडा गर्ने बखेडा विद्रोह आदि भए। संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरु पैदा भए। चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो। वार्ता सम्वाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरियो।



Comments

Popular posts from this blog

मार्कसिटको अंकमा जीवनको अस्तित्व खोज्नेहरू

आखिर किन भयो सिआइडी बन्द २१ वर्षपछि ?

तीन महिने तालिमका भरमा अधिकांश फार्मेसी सञ्चालनमा : गलत औषधी र एन्टिबायोटिकको जोखिम