बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या


रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्।

रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेका थिए। बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो।
रामकिशोरले बालिकालाई आमासँगै सुतिरहेको बेला उठाएर लगी पोखरीको छेउमा लगेर नाकमुख थुनी हत्या गरेको प्रहरीलाई बताएका छन्। हत्या अनुसन्धानमा जुटेको प्रहरीले पक्राउ गरी शुक्रबार यादवलाई सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार गत जेठ १९ गते यादवले प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा छोरीको लागि २५ लाखको बीमा गराएका थिए। 'एक महिनाभित्र बिमितको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने सुनेको आधारमा आफूले छोरीको हत्या गरेको उनले स्वीकार गरेका छन्,' खत्रीले भने।
यादवलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको खत्रीले बताए।

यसरी भयो हत्या

१७ गते बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय, मौलापुरमा घरमा आमासंग सुतिरहेकी चार वर्षीय बालिका बेपत्ता भएको खबर आयो।
करिब ४:२० बजे मौलापुरबाट प्रहरी निरीक्षकसहितको टोली घर पुगेर सोधपुछ गर्दा लक्ष्मी खाना खाएर राति करिब १० बजे आमा लीलादेवीसँग सुतेको खुल्यो। तर, बिहान १:३० बजे ब्युझिँदा लीलादेवीले छोरी भेटिनन्। यताउता खोजी गर्दा पनि छोरी फेला परिनन्।
करिब ५:३० बजे स्थानीय बालकालिका शौच गर्न जाने क्रममा फगुनी राय यादवको माछापोखरीमा बच्चाको लाश पानीमा तैरिरहेको देखे। प्रहरी टोलीले पुगेर हेर्दा हराइरहेकी बालिकाको शव भेटियो।
प्रहरीले शवको मुचुल्का उठायो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल, लाश जाँच मुचुल्कासहितको काम सकेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठायो।
'घटना शंकास्पद र रहस्यमय देखिएको हुँदा सोही दिन १७ गते नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नवीन कार्कीको संयोजकत्वमा दुई प्रहरी निरीक्षकसहित सात सदस्यीय अनुसन्धान टोली गठन गरियो,' खत्रीले भने, 'अनुसन्धान गर्ने क्रममा जेठ १९ गते मृतक बालिकाको २५ लाखको जीवन बीमा गरेको खुल्यो।' अनुसन्धान सिलसिलामा मृतकको बाबु नै शंकास्पद देखिएपछि यादवलाई १८ गते साँझ ५ बजे गौरबाट पक्राउ गरिएको थियो। सोधपुछ र केरकार गर्दा उनले छोरीको हत्या गरी पोखरीमा फालेको स्वीकार गरेका थिए।

'निदाइरहेकी छोरीलाई करिब १:३० बजे आफैंले काँधमा बोकेर पोखरीको डिलसम्म पुर्‍याएको र त्यहीँ नाक, मुख थुनी हत्या गरेपश्चात पोखरीमा फालेको बताएका छन्,' यादवको बयान उद्धृत गर्दै एसपी खत्रीले भने।

खत्रीका अनुसार रकमको लोभकै कारण हत्या नै गर्ने योजना बनाएको देखिएको छ। यादव सुरुमा ३० लाखको बीमा गराउन चाहन्थे। तर, बीमा कम्पनीले ३० लाखको बीमा गर्न आमा वा बाबुमध्ये एक जनाको ३० लाखकै बीमा हुनुपर्ने बताएछि अर्को दिन २५ लाखको बीमा गराएको खुलेको खत्रीले बताए।
यादव द्वन्द्वकालमा नेकपा माओवादीमा सक्रिय रुपमा लागी भूमिगत भएका थिए। २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेका थिए।



Comments